टंक सुवेदी
कृषिकै भरमा वसेर घरमा सादा किसानी वनी
वावाको कपुरी क ले सुरूभयो मेरो नयां जिवनी
आमाको मृदु लालना संगसंगै पढने र लेख्ने भयो
वेरोजगार यसै वसेर नहुदा जागिरमा मन् गयो
(१)
गन्दा फागुन पन्ध्र को दिन हुंदो सैंतिस संवत्सर
पैलोपल्ट लिपेयानीमा सुरूभयो संपर्क मेरो तर
सोरौं तारिखमा सुनिस्चित भयो , पैलो लमस्या गयो
पाएं पत्र नयां , नयां जिवनको अध्याय नौलो छ यो
(२)
मेरो दैनिकीमा पर्यो असजिलो अग्लो भूमेको शिर
पाखामा वन , कन्दरा रहरिला गाउॅं र वेसी तिर
ऐसेलु र गुरांसको लहरमा चल्दै गयो जिवनी
किन्तु यो मनमा तितो र नमिठो लागेन कैलयै पनि
(३)
कैले झस्स वनेली वाट चितुवा लस्केर जान्थ्यो तल
कैले चट्ट रमाउॅंदै हरिणका जोडा दगुर्थे पर
कैले शान्त सुशेली वाट परिले दिन्थे रसिला गित
हुन्थ्यो भेट कतै कुकुर अथवा काला विराला सित
(४)
मेरो चौविसको वसन्त कसरी पत्तै नपाई वित्यो
माया प्रेम थियो सवै सित मिठो पाइन्न फेरी कि त्यो
किन्तु आज विरानुभै पर हुंदा खल्लो छ यो जिवनी
स्वप्नामा त्यही भेटन आउॅंछु सधैं स्कूल मेरो भनी
(५)
हेर्दा स्कूलको भविस्य अतिनै राम्रै थियो मान्दछु
विद्यार्थी पनि सिष्ट हुन् सवजना भन्ने म यो जान्दछु
मेरा वालक , वालिका प्रिय सखा ऐले कता छन् कता
किन्तु आज विरानु यो मुलुकमा घुम्दै रहन्छु म ता
(६)
भन्छन् आज वसांईको लहरले वस्ती भयो पातलो
वेरोजगार भएर मानिस गए छोडेर आंफ्नो थलो
स्कूलमा पनि यै भयो दिन दिनै विद्यार्थी संख्या घट्यो
घट्दै छन् जनशक्ती गाउॅं घरमा यौटै समस्या छ त्यो
(७)
संझन्छु दिन रात गाउॅं घरको माटो र पानी मिठो
आमाको ममता मिठो , संगिनीको वानी , जवानी मिठो
शिक्षा , स्वास्थ्य मिठो पहाडी घरको पाखा , पखेरा मिठो
मेरै गाउॅं मिठो , हिमालय मिठो , नेपाल जम्मै मिठो
०३ जेष्ट २०८० ।