टंक सुवेदी
हाम्रा शान्त सफा स्वतन्त्र पनमा पुस्ता अनेकौं गले
किन्तु आज झुक्यो , रूक्यो प्रगतिको वाटो कतागो अरे
हाम्रो शिर झुक्यो , हिमालय झुक्यो , झुक्दै गयो मंगल
सिंगो देश झुक्यो अझै किन यता चल्दैछ यो दंगल
(१)
तारा जुन झुके , झुक्यो प्रगतिको वाटो अंध्यारो भयो
हाम्रा सुख झुके , रूके पथ सवै चल्दैन संसार यो
माया प्रेम झुक्यो अनर्थ हुनगो गल्दै गयो मानव
कस्ले सक्छ कसी लगाउन यसै द्यौता र को दानव
(२)
आमाको ममता झुक्यो सॅंगिनीको श्रृंगार झुक्दै गयो
छोरा , छोरी झुके कठै झुपडीको वत्ती अंध्यारो भयो
सिंगो राष्ट्र झुक्यो अझै किन यता झुक्दैन यो मानव
हाम्रो शान्ति कता गयो र कसरी मान्छे भयो दानव
(३)
पुर्खा वीर थिए लडेर कसरी किल्ला वने कांगडा
हाम्रो सांध कता गयो र अहिले हांमी कता छौं कता
त्यो ताजा इतिहास लेख्न सवले यौटै प्रतिज्ञा गरौं
आफ्नै देश वनाउने प्रण गरौं हाम्रै पसिना छरौं
(४)
हामी शोषित छौं करोड किन हो मिल्दैन हाम्रो वल
यौटै तागतले झुकाई दिनहूं थर्काउने केवल
हामी एक वने हिमालय पनि वन्नेछ हाम्रो भर
हाम्रै फूल वुकी , गुरांस हरूले वास्ना दिनन् हर्हर
फागुन ७ / २०७९ /