टंक सुवेदी
अग्ला लाखौं शिखर तलको देश नेपाल मेरो
माछा पुच्छ्रे शिखर तलको पोखराको पखेरो
तेसकै छाया निर जलजा पूर्ण यो लेखनाथ
एकै वन्दा सवल हुनगो पोखराको समाज
(१)
मेरै गाउॅं सित नजिकिदो पारिलो गाउॅं थुम्की
भन्छन् दुइटा दिदी र वहिनी दिव्य संसार छुम्की
पास्ते खोला मिलन दुइको मादीको दिव्य घेरो
विर्दी आफैं प्रगती पथमा प्यून थाली अंधेरो
(२)
जौवारिको जल पनि ऊतै वग्छरे सुस्त सुस्त
मादी वेसी रन वन खुल्यो तालवेसी दुरूस्त
ठूल्वेसीका वस घुमी घुमी पोखरा पुग्न थाले
डांडा पाखा फल फूल संगै रम्न थाले मजाले
(३)
मैले पढने सरल झुपडी आज नौलो हुंदैछ
मैले चढने शिखर चुलिमा चन्द्रमाले छुंदैछ
मैले खेल्ने चहुर हरूमा हुर्किए चांप घारी
मैले हिडने पथहरू खुले चल्न थाले सवारी
(४)
मैले प्यूने जल तल पर्यो दशमुरेको पंधेरो
मौका पायो घर घर गयो जुकेपानी पंधेरो
घुम्दै आयो रनवन संगै थाकको मुल पानी
सल्लाघारी अतुलनिय भै ज्यून थाल्यो जवानी
(५)
मेरी आमा घर घर वसी फोनमा दंग पर्छिन्
मेला जाने तरूण युवती आज रामकोट पढ्छिन्
पढ्ने लेख्ने लगनशील छन् उद्यमि छन् किसान
आंफ्नो गाउॅं झिली मिली गरौं फर्क हे नौजवान
(६)
वल्दै आयो विजुलीमय भो गाउॅंले रूप फेर्यो
शिक्षा ज्योती जगमग भयो प्यून थाल्यो अंधेरो
डांडा पाखा रनवन खुले खुल्न थाले तमाम
आमा भन्छिन् घरघर सवै फर्क हे नौजवान
(७)
खैंजेडीका संग ती मुजुरा मादलु घन्की घन्की
नाच्दै होलिन् तरूण युवती षोडसी फन्की फन्की
चल्दै होला रसमय लिला बारपिर्के तमाम
घुम्दै होला विजय दशमी फर्क हे नौजवान
(८)
फूल्दै होलान् मखमली थुंगा मालती छांद हाली
आयो होला घरघर जूवा तासमा यो दिवाली
चल्दै होला रमझम संगै तीजको ताम झाम
आए होलान् दिदी र वहिनी फर्क हे नौजवान
(९)
थुंकी वल्दो प्रगति पथमा हंसपुरको परेली
माछा पुच्छ्रे शिखर तलका पोखराका तरेली
मिल्दा एकै रसमय वन्यो एकता यो पवित्र
छर्ला नौला किरण यसले भोली नेपाल भित्र
(१०)
आफ्नो गाउॅं सित सरसिलो जिन्दगी ज्यूनु पर्ने
आफ्नो ठाउॅं सित सुमधुरो भावना स्युंनु पर्ने
किन्तु हामी परपर भयौं गाउॅं छोडेर आज
मेरो लागी अतिसय मिठो लाग्छ मेरै समाज
०३ मार्च २०२४ ।