टंक सुवेदी
हंसपुर गाउॅं संझिन्छु म हुन्छु घरवारीमा
मेरा रक्त भिजेकाछन् त्यहिंका खेत वारीमा
हड्डी त्यैं घोटिएका छन् बान्नु पर्खाल लाउॅंदा
पसिना पोतिएका छन् गरा सम्म वनाउॅंदा
(१)
हंसपुर गाउॅं सम्झन्छु मेरो वेंसी थियो त्यहीं
त्यहिंको धान बोकेर ओसार्थें म दही , मही
त्यसैको आडमा घुम्थें पसिना त्यैं बगाउॅंथें
गरूंगो भारी बोकेर आमालाइ सघाउॅंथे
(२)
हंसपुर गाउॅं संझिन्छु कोटको गोठको पूजा
त्यहीं काफल ऐसेलु खांदा प्यूंदा मजै मजा
पुषमा उखु पेल्दा झन् रसेटामा खुदै खुदो
गुट्गुटे कति खेलिन्थ्यो चौंसारो अर्चले हुंदो
(३)
हंसपुर गाउॅं संझिन्छु कुलका मुलको पुजा
मान्छेका मनको मैलो बन्धुका प्रेमले धुंदा
मंसिरमा दांइको रन्कोअसारे पन्ध्रको खुसी
शिवरात्री , होलीमा घुम्थ्यौं कालेउॅंखु चुसीचुसी
(४)
हंसपुर गाउॅं संझिन्छु दसैं तिहारको टिको
उही साहित्य संमेलन कविता गांइने मिठो
दांसिमरांग उर्लिन्थ्यो जोडिन्थ्यो दमदमे सित
त्यहीं लाखे नचाइन्थ्यो तीजको रागिनी सित
(५)
हंसपुर गाउॅं संझिन्छु आजको अरूणोदय
हिंजो प्रभातमा पांए त्यहीं साक्षर निर्भय
विरूवा खुब रोपिन्थ्यो बान्नु पर्खाल लाउॅंदा
केयर नेपाल आएर हंसपुर वनाउॅंदा
(६)
हंसपुर गाउॅं संझिन्छु वाटो , पानी जुरे पछी
सिंगो रामकोट माझेर बाह्र कक्षा खुले पछी
सिफारिस त्यहीं मिल्दा त्यहीं औषधी पाउॅंदा
उही रामकोटले आज हंसपुर घुमाउॅंदा
(७)
हंसपुर गाउॅं संझिन्छु उता स्याक्लुंग को पयो
लिपेयानी हांडीखोला झन् नदेखेको कति भयो
हरिया नोट फल्दैछन् सुन्तलाका मुना तिर
अलैंची झांगिएका छन् खोल्सा खाल्सी कुना तिर
(८)
हंसपुर गाउॅं संझिन्छु राणाको दव् दवा थियो
जनता रैती मानिन्थे मुखिया गाउॅंको मियो
परिवर्तन आएन पंचायत हेरियो कति
अहिले गणतन्त्र आएनि उस्तै छ गाउॅंको गति
(९)
हंसपुर गाउॅं संझिन्छु शिक्षा ज्योति यहीं वले
सुनज्यूरी जिज्यू देखी पुस्ता पुस्ता यहीं गले
अहिले वाहिर जांदै छन् रोजगारी नपाउॅंदा
म पनि बाहिरै हुन्छु प्राधब्दले घुमाउॅंदा
(१०)
हंसपुर गाउॅं संझन्छु सिंगो नेपाल चुम्दछु
छोराकै साथमा हुन्छु गेराको देश घुम्दछु
स्वप्नामा गाउॅंमै जान्छु बसेको छु अमेरिका
गाउॅंकै सम्झना हुन्छ मेरो लागी छ यो फिका
(११)
हंसपुर गाउॅं सम्झन्छु पास्ते खोला तरे पछी
थुम्कीको रूप देखिन्छ कोट बाट झरे पछी
मान्छे साक्षर छन् किन्तु सरेका छन् कता कता
गाउॅंको रूप यस्तै छ हेर्दा खेरी यता उता
(१२)
हंसपुर गाउॅं संझन्छु पोखरामा सरे कती
गाउॅंकै मानिस भेटिन्छ दोभान खोला तरे पछी
एतै समाज वन्दै छ थोपा थोपा मिले पछी
भोलीको देश हांक्ने छ अन्धकार निले पछी
(१३)
हंसपुर गाउॅं संझन्छु बेजिल्लामा सरे कती
कोही बिदेश घुम्दै छन् बन्दोबस्त गरे कती
किन्तु यही गाउॅंको रक्त बगेको छ नसा नसा
गाउॅंकै रूप बिग्रेर किन आज भयो दशा
(१४)
मित्रहो सवले आंफ्नै गाउॅंको सम्झना गरौं
आमाको दिलको मैलो पखालेर सफा गरौं
देश राम्रो हुंदै जान्छ गाउॅं राम्रो बने पछी
जननी जन्मभूमिश्च स्वर्गा दपी गरी यसी
२९ अप्रील २०२४ !