Thu. Jul 4th, 2024

टंक सुवेदी

आमा मेरी सरल रसिली सैलकी सार चेली

हेछिर्न् लाखौं शिशुहरू सधैं दिव्य खोली परेली

भन्छिन् आओ सवजन मिली एकतामा रमाओ

एउटै झण्डा तलतिर सधैं शान्तिका गीत गाओ

(१)

मेरी आमा हिउॅं शिखरका टाकुरा टाकुरामा

मेरी आमा कृषक हरूका पाखुरा पाखुरामा

भन्छिन् आओ युगयुग संगै प्रेम धारा वगाओ

एउटै झण्डा तलतिर यधैं शान्तिका गीत गाओ

(२)

मेरी आमा श्रमिकहरूका झोपडी झोपडीमा

मेरी आमा सकल जनका खोपडी खोपडीमा

भन्छिन् आओ सव जन मिली देशको धुन गाओ

एउटै झण्डा तलतिर सधै शान्तिका गीत गाओ

(३)

आमा भन्छिन् कपटीहरूका चोर औंला समात

नेपाली हो नफुट कहिल्यै द्वेषले क्वै नमात

आमा भन्छिन् सवजन मिली एकतामा रमाओ

एऊटै झण्डा तलतिर सधैं शान्तिका गीत गाओ

(४)

हामी फाटे दलदल वने देश यो अल्तलिन्छ

आमा भन्छिन् मुसुक सवको एकतामा अडिन्छ

किन्तु हामी छरलिन गयौं छोडिदिउॅं राग द्वेष

एउटै झण्डा विपुल दरिलो पारिदेउ हे महेश

(५)

हामी वाचौं युगयुग संगै एकता एकता ली

हामी हासौ युगयुग संगै लेक , वेसी उचाली

नेपाली हौं दलदल नभै छोडिदिउॅं राग द्वेष

एउटै झण्डा विपुल दरिलो पारीदेऊ महेश

१९ नोभेम्वर २०२३ !