Thu. Jul 4th, 2024

टंक सुवेदी

प्रभातमै भेट हुंदा प्रसंगमा

संवाद तीर्थस्थलको चल्यो नयां

मेरो पनि चट्ट उकासियो मन

तुरून्त ल्यायो घरले समर्थन

(१)

वैसट्ठी संवत्सर पौष तेह्रमा

संवाद भो साईत निस्कियो नयां

लाग्यौं विदा वादी निकै मिठो भयो

आयो सुनौलो वसले उतै लयो

(२)

कतै उचा निच थियो घमाईलो

कतै खुला मार्ग थियो रमाईलो

कतै थियो निख्खर गाउॅंले पन

कतै हरियाली थियो टना टन

(३)

घुम्दै गयौं होटलमा वसाई भो

चितौनको क्षेत्र रमाईलै थियो

प्रस्थान तेश्रो दिन भो उतै तिर

राती पुग्यौं क्षेत्र हरि हरेश्वर

(४)

राम्रै थियो घाट नुहाईयो तेतै

घुम्दै गयौं मन्दिरमा जता ततै

गाडी कुदायो गुरूले अॅंधेरीमा

आठै जना लसेकर भो मझेरीमा

(५)

प्रस्थान चौथो दिन भो पुना पुना

राम्रै भयो श्राद्ध पूजा प्रदक्षिणा

गयाजी को फल्गु समेत हेरियो

तेतै भयो वास रमाईलै थियो

(६)

गर्दै गयौं श्राद्ध पूजा विधानको

ठण्डा थियो उग्र कडा विहानिको

कतै मगन्तेहरू घेरिदै थिए

पैसा लिने पण्डित फेरिदै थिए

(७)

प्रस्थान पाचौं दिन दिन काशीमा भयो

विशाल गंगा तटमा नुहाईयो

गर्दै गयौं पीतृ पूजा र तर्पण

आंफैं भयौं मन्दिरमा समर्पण

(८)

चल्दै थियो रेल कतै यता उता

जता गयो वन्द वजार वेपता

उतै हरियाली थियो सफा सफा

धुम्दै गयौं लाहुरका दफा दफा

(९)

प्रस्थान छैटौं दिन विन्ध्यवासिनी

घुम्दै अयोध्या पुरी भित्र आसिन

श्रीराम , सीता , लव , कुस भेटियो

आए हनुमान हरू लखेटियो

(१०)

कतै थियो मन्दिरमा पवित्रता

कतै चमत्कार थियो विचित्रता

प्रस्थान सातौं दिन भैरवा भयो

तेतै गयो रात रमाईलै थियो

(११)

कतै भयो वास त धर्मशालमा

कतै सफा होटल भित्र खालमा

खाना मिलाएर वनईयो सदा

घुम्दै गयौं ढाव हुंदो यदा कदा

(१२)

कोही निदाएर झुकाउॅंथे शिर

कोही नियालेर यता उता तिर

कोही संगैका सित मात्र गुन्गुन

तानेर लिन्थे वसको मिठो धुन

(१३)

कोही चपाएर चुसि रहन्थे

कोही रमाएर खुसी रहन्थे

कोही उचालेर पिई रहन्थे

कोही निकालेर दिई रहन्थे

(१४)

प्रभातमा स्वच्छ नदी नुहाउॅंदै

घुम्दै गयौं मन्दिरमा रमाउॅंदै

कतै पूजा , पिण्ड प्रदक्षिणा गरी

हेर्दै गयौं चित्र विचित्र मन्जरी

(५)

राम्रै भयो तीर्थ घुमेर आईयो

संझेर यस्तो कविता वनाईयो

माला , पूजा , पिण्ड , प्रदक्षिणा गरी

प्रसन्न पार्यौं मनको भकारी

२६ । जेष्ठ । २०८० ।