टंक सुवेदी
मादी नदी कल्कलभै सुसाउॅंछ , यता भूमेको सिर मुस्कुराउॅंछ
पाखा हुदो गाउॅं छ हंसपुरको , छोरो भइ जन्म लिएं सुवेदीको
त्यै गाउॅंमा फूल संगै फूलिरहें , आकासको जुन संग डुलिरहें
पंचांगमा आइ लगन जुराइ , चुडामडी नाउॅं दिए मलाइ
(१)
प्रभातमा सूर्य खुलेर आउॅंदा , हिमालमा कान्ती नयां फिंजाउॅंदा
नौलो विहानी सित मुस्कुराउॅंदै , म खेल्न थालें रसमा रमाउॅंदै
कैले वगैंचा तिर छुन्मुनाउॅंथें ,कैले म रामकोट तिरै रमाउॅंथें
कैले पढें चण्डी र वेदका ऋचा , धेरै सहें चोटहरू तिता मिठा
(२)
कैले किसानी वनी वेसी झर्दथे , कैले ओसारेर भकारी भर्दथें
कैले म पण्डीत वनी रमाउॅंथें , सुरो , चरू दुइतिर मैं समाउॅंथें
कोल्वारीमा वाह्रखर सिकाउॅंदै , घरवारीमा झन् पसिना वगाउॅंदै
धेरै गरें किन्तु कसै अघाइन , म गाउॅंको सेवक वन्न पाइन
(३)
किता म मुग्लान छिरेर आउॅंला , किता म विद्या लिन काशी जाउॅंला
भन्दै गएं अवसर केही पाइन , किन्तु म यो भारतमा रमाइन
किवा तराइ तिर घर जमाउॅंला , माटो र पानी संगमा रमाउॅंला
गम्दै गएं सोंच परासीमा थियो , चूमेर धर्ती रसिलो हुंदै थियो
(४)
चल्दै थिए सोंचहरू नयां नयां , खुल्दै थिए जिवनका कुना कुना
आयो प्रशासन र भयो कचिंगल , भन्दा त्याहां केही थिएन जंगल
आगो लगाए झुपडी हरू जले , सुत्केरी या वालक फन्फनी ढले
आंधी चल्यो सन्न छिया भए सिर , यो न्याय सेवा खनियो सवै तिर
(५)
घेरा दिए खुव डसे , डसिरहे , राता पिरा गोमन त्यैं वसिरहे
निर्दोष मान्छेहरू जेलमा परे , सोझा , निमुखा दविए पछी परे
परासिमा संभव देखिएन , फर्केर जाउॅं मनले दिएन
कैलालीमा वल्ल जमिन पाइयो , चूमेर धर्ती रसिलो हुंदै थियो
(६)
आए नयां दिन तितो पखालियो , फूलवारीमा पौरख छर्न थालियो
चल्दैछ मेरो घर वार आज , वन्दैछ राम्रो र दरो समाज
मलाइ कैलाली अत्यन्त प्रिय छ , कैलाली भन्दा प्रिय हंसपुर छ
म भेटन जानें सुरमा छु आज , चल्दैछ मेरो मनको जहाज
२२ जनवरी २०२४,