Fri. Nov 22nd, 2024

टंक सुवेदी

हामी भित्र परम्परा छ गहिरो आध्यात्म वादी पन

त्यै निस्क्यो घरमा वढ्यो तरूणभै ल्यायो नया चिन्तन

मुक्तिनाथ पवित्र शैल घुमने हाम्रो तयारी भयो

एक्काइस सताव्दियौं शिखरको अध्याय नौलो छ यो

(१)

यात्रा आस्विन मासको तिन गते वाउन्न संवत्सर

आमाको शुभकामना संग संगै हाम्रो भयो साइत

लाग्यौं सुन्दर पोखरा तिर जता रम्दै थिए वालक

संला ताल सफा हिमाल हरूले गर्दै गए स्वागत

(२)

सेती गण्डकी खोंचभित्र गहिरो गर्दै थिइन् गुंजन

लुम्ले केन्द्र हुंदै अगाडी वढने हाम्रो भयो चिन्तन

वाटामा हरियाली फाट र सफा गाउॅं सुनौला थिए

अग्ला पर्वत श्रृंखला शरदले माझे सरी देखिए

(३)

आयो पर्वत मोदीको पुल नयां , कुस्मा पछाडी पर्यो

कालीगण्डकी पारीको शहरले हाम्रो सुस्वागत गर्यो

वेनी , वाग्लुंग फांटमा शहरका तांती थिए सुन्दर

घुम्दै फेरी उता गलेश्वर गयौं राम्रा थिए मन्दिर

(४)

आयो घास वजार गल्छी तलगो लेते र दाना कट्यो

तातो पानी छुट्यो र फेरी टुकुचे , मार्फा पछाडी हट्यो

हामी लेक पस्यौं जति उति नयां गाउॅं र ठाउॅं मिले

अग्ला पर्वत भेटिए र हिउॅंले जंगल हरिया निले

(५)

ताजा स्याउ , अनारको रस लिंदै जोमसोम को लेकमा

हामी हेरू पुग्यौं उचा , सरसिला ओस्याइला भेकमा

चौतर्फी हिउॅं श्रृंखला रहरिला तांती सुनौलो थियो

नौला हामी थियौं नयां सवकुरा संसार नौलो थियो

(६)

काली गण्डकी काकवेनी तिरमा राम्रै भयो तर्पण

मुक्तिक्षत्र पुगी क्रमैसित भयो पुष्पान्जली अर्पण

मुक्तिनाथ पवित्र शैल सुरिलो अग्लो चुलिको तल

मुस्काइ हिउॅंका सफा शिखरले दिन्थे त्याहा सितल

(७)

हामी धेर घुम्यौं , डूव्यौं दह ठूला धारा नुहाइ कन

यात्रा पुर्ण हुंदा प्रशन्न मनले गर्दै गयौं दर्शन

मुक्तिनाथ पवित्र शैल सुरिलो आकाश जस्तै खुला

चारै तर्फ सफा हिमालय हरू सर्लक्कका ठूल्ठूला

(८)

ढुंगाकै दरवार , मन्दिर , कुवा , धारा सुनौला थिए

ज्वाला देवी संगै धपक्क वलने नौलै कुरा देखिए

द्यौता सुन्दर मुर्ती मग्न अवला मन्दिर भित्रै थिए

किन्तु मुक्ती र पुण्य खांतिर सवै मान्छे त्याहां वैरिए

(८)

साक्षात् ईश्वर भेटिने यदी भए मान्छे सुखी वन्दथ्यो

त्यै मान्छे किन पेट भर्न नसकी आंफैं दुखी वन्दथ्यो

आत्मा ईश्वर हो विचार धन हो यो देह हो नश्वर

सेवा गर्नु विपन्न वर्ग हरूको हुव्छन खुशि ईश्वर

(९)

अर्काको नकुंड्याइ कत्ति जसले आत्मा सफा राख्दछ

त्यै मान्छे सुखी हुन्छ त्यै गगनको तारा भइ राख्दछ

शक्ति हो जन एकता र यसमा विश्वास ठूलो गरौं

यै धर्ती भरिलो वनाउन सिकौं हांम्रै पसिना छरौं

१० कार्तिक २०५२ ।