टंक सुवेदी
हाम्रा पुर्वज राखु देखी पहिले आए नयां जोसमा
चढ्दै पर्वत श्रृंखला नद नदी तर्दै वडा होसमा
आएछन् जव हंसपुर स्थल यो पैला थियो जंगल
फांडी चट्ट वसे कसेर झुपडी भो मंगलै मंगल
(१)
धेरै काल विताइ हंसपुरमा गर्दै गए पौरख
धेरै जाती मिलाउदै कठिनले वस्ती वसाए सव
हांमी सन्तति छौंउनै मनुजका ऐले हजारौं थरी
वस्छन् वास कपासको रहरमा सक्दो परिश्रम गरी
(२)
वारी , खेत र फांटका रहरिला चक्ला हजारौं खनी
गाई भैंसी चराउॅंने लहरमा हुन्थ्यो सधैं सन्सनी
ज्यादै प्रेम थियो भिजाइ पसिना वन्दै थिए पौरखी
सम्वत आठ असारले असजिलो वन्दै थियो जिन्दगी
(३)
आयो वाढी वगाई खेत रसिला पाखा र वेसी लता
थाले झर्न निमोठिएर खहरे फांटै कता गो कता
यस्तो सत्य कथा वेथा सरी भयो मान्छे परे भेलमा
लागे झर्न तराइ तर्फ , निमुखा , सोझा हरे जेलमा
(४)
प्यारा संगत गर्न लायक सखी उम्केर टाढा हुंदा
दाजु , वावु , वराजु ,भाइ ,भतिजा सम्झेर एक्लै रूंदा
मेरो जीवन अन्धकार भवमा चंगा उडाए सरी
थाल्यो आत्तिन यत्र तत्र दगुरी आंफैं अकेलो परी
(५)
वारी , खेत पराइको अधिनमा पर्दै गयो वन्धगी
लागें झर्न तराइको रहरमा निस्तेज भो जिन्दगी
तेरै तर्क लिएं पिएं दुख सवै पाइन राम्रो फल
टुक्रा एक किनें छिनें हृदयका आशाहरू केवल
(६)
प्यारा आत्मिय आत्मको मद्दतमा रोपेर वाली हरू
थाल्यौं काम संगै मिलेर मजुरा खोजेर थारू अरू
साझा एक कुटी वनाइ खरको पाखा सजाइ पुरा
गर्दै आपसमा मिठा सरसिला नौला अनेकौं कुरा
(७)
मेरा आत्मिय मावली हरू कठै विर्साउॅंथे जो पिता
जस्ले वालखमै पढाइ कपुरी भन्दै पढायो गिता
तेस्तालाइ विदा गरेर मन यो वन्दैछ है निष्ठूर
छाती हुन्छ चटक्क कुननी किनहो छाडेर आंफ्नो सुर
(८)
मेरा भन्नु जहां थिए घर दुवै यौटा पराइ भयो
यौटा मात्र अकेलियर किन हो खल्लो हुंदै पो छ यो
मैले टिक्नु कसोरी हंसपुरमा मिल्दैन कि साइत
आमा देउ विदा , सिदा अव मता जान्छु मुमा माइत
१२ दिसेम्वर २०२२ ।