Fri. Nov 22nd, 2024

टंक सुवेदी

श्रमसक्ति उचालेर विद्यालय हरू खुले

मान्छेका गास काटेर वोल चन्दाहरू सुले

पहरा फोरिए अग्ला मैदान पारिए ठूला

गल , गैंची उठाएर श्रमदान भयो खुला

(१)

उभिए घरका छाना वनाए खुसीयालीमा

जन संलग्न भो राम्रो चेतनामय रेलिमा

गाउॅं , वेसी वने माल विद्यालय वन्यो मियो

अभियान ठूलै आयो टेवा सरकारले दियो

(२)

मन मस्तिष्कमा राम्रा भावना फैलिदै गए

भाडाको लाहुरे वन्ने सोचाइ मैलिदै गए

अनुशासनका धारा विद्यार्थी हरूले पिए

गुरुको गुण मौलायो नयां सोच निकालिए

(३)

आज , भोलि कतावाट नमिठो रस पोखियो

सुरक्षा मेटिदै आयो मुक्त आकास छेकियो

लगानी व्यर्थ भो किन्तु सोचाई राखिदैन कि

अनुशासनको छाप मेटियो , मेटिदै छ कि

(४)

न झोला नकला वोकी विद्यार्थी पढ्न आंउॅंछ

कक्षाको मेचमा लेटी फिल्मका गीत गाउॅंछ

लगाई कानमा झुम्का आंखा गर्छ तिरीमिरी

नौला रिवनका फुर्का हल्लाउॅंछ फिरी फिरी

(५)

वाउन्न पत्तीका यस्तै त्रिपन्न खेल जान्दछ

रिसाएर कुरागर्छ सम्झाएर न मान्दछ

निमुखा हरूका छोरा हेपिन्छन् मारमा परी

कपी , कलम झोलामा हेर्नु पर्छ घरी घरी

(६)

सिनेमा फेरिदा रम्छन् हेर्दा खुव रमाउॅंछन्

अभिनय निकै गर्छन् सुर ताल समाउॅंछन्

मेला पर्व हुंदा जम्छन् डिस्को नाच नचाउॅंछन्

कैले आवेसमा हुन्छन् हुल दंगा मचाउॅंछन्

(७)

नेता , सामन्तका छोरी फिल्मका गित गांउॅंछन्

पैसाले पुरिएका छन् के के किन्छन् चपाउॅंछन्

कुराकानी निकै गर्छन् श्रृंगारमा रमाउॅंछन्

ग्यान विग्यान छोडेर प्रेम धारा वगाउॅंछन

(८)

किसान हरूकी छोरी किशोरी पढन आउॅंछन्

सादा पोशाकमा हुन्छन् राष्ट्रको धुन गाउॅंछन्

घर धन्दा मिठो गर्छन् आंमालाई सघाउॅंछन्

पुगे पेटभरी खान्छन् नपुगे नि अघाउॅंछन्

(९)

परको हरूवा छोरो घरमा शेर वन्दछ

न पढ्छ गर्छ क्यै काम कसैलाई न गन्दछ

नाना , खाना उसैलाई नभए पनि जुर्दछ

भनेको नपुगे रून्छ भाइ वैनी भकुर्दछ

(१०)

एकै सन्तान हुन् किन्तु छोरिले हार्नु पर्दछ

हुर्कंदो प्रतिभा लाई अंठ्याई मार्नु पर्दछ

घरमा परमा उस्तै पुरानै पक्षपात छ

प्रजातन्त्र नयां आईस् तॅंलाई धन्यवाद छ

(११)

गुरूको विचमा राम्रो एकता मेटिदै गयो

जता हेर्यो उतै मैलो तिक्तता भेटिदै गयो

दलिय स्वार्थमा कालो विवाद फैलिदै गयो

शिक्षाको जग हल्लायो शिष्टता मैलिदै गयो

(१२)

नयां नेपाल हांकेर लम्कनुछ यदी भने

जुन , तारा उदाएझैं चम्कनुछ यदी भने

उठाउॅं देशको झण्डा एकै गोल हुने गरौं

नेपाली वीर छन् भन्ने भावना विश्वमा छरौं

१५ नोभेम्वर २०२२