Mon. Dec 23rd, 2024
गोसाईकुण्ड को यात्रा

टंक सुवेदी

हेर्दा शान्त विहानी को सफरमा संपर्क राम्रो थियो

योगा ध्यान हुंदा हुंदै चउरमा नौलै कुरा निस्कियो

गोसाई मय कुण्ड स्नान गरने हाम्रो तयारी भयो

एक्काइस शतावेदियौं शिखरको अध्याय नौलो छ यो

(१)

भाद्रै मास मिती त्रयोदसी तिथी वैसट्ठी संवत्सर

आयो साइतको नयां दिन गयौं हेर्दै हिमाली शिर

वाटामा हरियाली फांट रसिला पाखा थिए सुन्दर

हेर्दा शान्त सफा हिमाल हरूले गर्दै थिए स्वागत

(२)

लाजी पुल नयां कलेज विचमा स्कूल धेरै थिए

अग्ला पर्वत श्रृंखला शरदले माझे सरी देखिए

मान्छेका सुविधा सवै विदुरका पाटा हरूमा थिए

चारौं तर्फ वजार सुन्दर नयां वाटा हरूमा थिए

(३)

वेसी वाट घुमाउॅंदै वस उॅंभो चढ्दै गयौं लेकमा

नौला गाउॅं थिए निकुंन्ज तलका ओस्याइला भेकमा

गाउॅंको शिर वाट नै वस उता धुन्चे तिरै मोडियो

संलो पानी सशान्त पुर्वक दिने झर्ना उतै छोडियो

(४)

उल्लेरी हरियाली युक्त वनको लामो उकालो हुंदा

लट्ठीकै भरमा थियौं सव जना नौलै थिए संपदा

हेर्दा चन्दन वारीको शिर निकै सौन्दर्य राम्रो थियो

नौला हांमी थियौं नयां सव कुरा संसार नौलो थियो

(५)

चौंरी खर्क यता उता नद नदी यौटै लहरमा वगी

ज्यादै मन्द हिंडाइमा अघि वढ्यौं निस्तेज भो जिन्दगी

भैरव कुण्ड पहाडको तल निकै छांया अनौठो थियो

झर्ना कल्कल देखियो र हिउॅंको अग्लो चुली भेटियो

(६)

हामी केही वढ्यौं संगै चुली चढ्यौं देख्यौं नयां सागर

गोसाई मय कुण्ड कन्चन थियो प्यूंदै थिए मानव

कुण्ड स्नान गरी जप्यौं शिव हरि गर्दै गयौं तर्पण

माला चन्दन फूलको , अविरको राम्रै भयो अर्पण

(७)

हेर्दा शान्त सफा दफा त्रिशुलको धारा नुहाए पछी

चंगा चित्त भयो गयो दुख सवै नौलो भयो जिन्दगी

रक्षा वन्धन लाइयो शिवजी को चर्चा मिठो पाइयो

मान्छेको मन माझियो , दिल खुल्यो सन्तोषले आइयो

(८)

अग्ला भिर तरेली सुन्दर नयां पाखा पखेरा तिर

हेर्दै चन्दन वारीको तल तलै धुन्चे पुग्यौं आखिर

धुन्चे वाट सनै सनै वस यता लाग्दै ओराली झर्यो

भोलिपल्ट चिटिक्कको वस उता नौलो उकाली चढ्यो

(९)

सल्लो , साल , पलांसका वन सफा वस्ती थिए भेकमा

नौला गाउॅं वजार सुन्दर नुवाकोटै थियो लेकमा

नेपाली पनमा थिए घर सफा वुट्टा कुंदेका थिए

पुर्खाकै सिपमा सुशोभित कला माला वनेका थिए

(१०)

चौडा चौक थिई वसन्तपुरकै आमा सरी सुन्दरी

नौलो नृत्य देखाउॅंथी घरी घरी लेख्नै नमिल्ने गरी

तेसमा सात तले गजुर सितको दरवार नौलो थियो

त्यै दरवार वनाउॅंथ्यो गहकिलो राजा हरूको मियो

(११)

घुम्दै हामी थियौं यता समयले फिर्ता गरायो तल

देविघाट गयौं नुहाउॅंन सफा गंगा थियो निर्मल

पिपलटार हुंदै चल्यो वस यता गाना मिठो गाइयो

डांडाको सिरमा पुगेर सजिलै घुम्दै यतै आइयो

(१२)

आयोजक प्रती धन्यवाद छ ठूलो हांमी सवै टोलिको

यस्तै तीर्थ घुमाउॅंने सफलता पाओस ठूलो भोलिको

घुम्दै वस वसुन्धरा तिर गयो मुस्कान राम्रो चल्यो

यात्रा पूर्ण भयो र यो मनभरी वत्ती सुनौला वल्यो

१० जेष्ठ २०८० ।