Sat. May 18th, 2024

टंक सुवेदी

शाली नदी सुन्दर फांटको तल

यता उता सुन्दर छन् समस्थल

सुस्ताउॅंदै शान्त वनि अलि अलि

प्रशन्न मुद्रामय कुण्ड कुण्ड ली

(१)

नौलै छ यो जंगल भित्रको मूल

जता गयो फट् फटका पुलै पुल

प्रकृतिको सुन्दर शान्त यो लता

यता उता मन्दिर छन् चिटिक्कका

(२)

वसन्तमा शान्त वनी लुसाउने

वर्षा हुंदा चंचल भै सुसाउने

स्वस्थानीकै सुन्दरता समानकी

शाली नदी श्रेष्ठ परी पुराणकी

(३)

भेला हुने माघ भरी विचित्रको

वेदान्तका दर्शन भित्र भित्रको

गाथा मिठो , फाटहरू मिठा कति

किसानको फुर्फुर झन् कति कति

(४)

हेर्दा निकै सुन्दर शान्त चित्र यो

वसन्तको आंचल भित्र भित्र को

लोलाउॅंदै जाल वुनेर निर्मल

घुम्दै छ यो सुन्दर कुन्जको तल

(५)

कता छ यो शिर कता विसाउॅंछ

मैलो पसे धुन्छ निकै रिसाउॅंछ

साथी मिले फुर्फुर यो रमाउॅंछ

आमा संगै मिल्दछ मुस्कुराउॅंछ

(६)

ताते पछि सर्सर उडन लाउॅंछ

हावा संगै उड्दछ यो सुसाउॅंछ

आफैं चिसो हुन्छ र फाल हाल्दछ

मैलो धुलो धुन्छ सवै पखाल्दछ

जेष्ठ १७ । २०८० ।